सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए।
विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ। उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ। यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ।
नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ।
त्यसैगरी आजै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ। जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ।
मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने भएको उनले बताए। खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।
अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।