प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन्। वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए।
भ्याक्सिन आइराखेको छ। हिजो कि अस्ति पनि आयो। भोलि पनि आउँछ। निरन्तर ल्याउने र जनतालाई उपलब्ध गराउने कुरामा अभाव हुन नदिन नयाँनयाँ सम्झौताका लागि संवाद जारी छ, सम्बोधनको क्रममा उनले भने।
जनतामा सचेतना बढे पनि विश्वमा कोरोना नियन्त्रण नभइन्जेल सामाजिक दूरी र मास्क अनिवार्य लगाइराख्नुपर्नेमा उनले जोड दिए। स्वास्थ्य सामग्री, चिकित्सक, नर्स, साधनस्रोत र उपकरणको न्यूनता रहे पनि जीवनरक्षालाई प्राथमिकता दिएकै कारण कोभिडमा नियन्त्रण सम्भव भएको ओलीले बताए।