असार २७, २०७८ आइतबार

मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योग शारीरिक, मानसिक एवं सामाजिक रोगको निवारणमात्र होइन एउटा अनुशासित र मर्यादित जीवनपद्धति पनि हो । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । योगका फाइदाहरू असंख्य हुन्छन् ।

योग गर्नुका फाइदा 

- योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ। उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ।

- रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ।

- प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ।

-नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने (ब्याक पेन)को समस्या कम गर्छ। महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेटभित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चार वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।

- मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छन्। यसका लागि योग प्रशिक्षकसँग अन्तक्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ। त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको छ।

- शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।