काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले सङ्क्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।
देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले सङ्क्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यो समाचार राजधानी दैनिकले लेखेको छ ।