असार २३, २०७८ बुधबार

फाइल तस्बिर

रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पुर्‍याउँछ । सानो कुरामा रिस नियन्त्रणका गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षतिसमेत पुग्‍न सक्छ र त्यसमा पछुतोबाहेक अरू केही हुँदैन । त्यसैले चिकित्सक भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि संयमित बन्‍नुपर्छ या रिस नियन्त्रण गर्न सक्नु पर्छ।’

जाँडरक्सीको कुलतमा परेकालाई अझ धेरै रिस उठ्छ। अपेक्षा गरेअनुसारको माया, प्रेम नपाएमा पनि रिस उठ्छ । भावनात्मक कुरा गर्दा प्राय: रिस र प्रेमको प्रसँग बढी जोडिन्छन्, रिसाउनलाई पनि ऊर्जा चाहिन्छ भने प्रेम गर्नलाई पनि त्यसैको आवश्कता पर्छ।

रिस किन उठ्छ ?

मानसिक समस्या
रोग, भोक, शोकलगायत कारणले मानिस आफै पिरोलिएका हुन्छन् । त्यस्तो बेला उनीहरूले अरूका सामान्य कुरालाई पनि गहिरो तरिकाले बुझ्छन् र अचानक रिसाउँछन्।

आदत
कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाई खाएका, झैझगडाको वातावरणमा हुर्किएकाहरूमा धेरै रिस उठ्ने बानी हुन्छ।

उनीहरूले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरे पनि असफल हुन्छन्। र त्यो उनीहरूको कमजोरीका रूपमा रहिरन्छ।

प्रतिकूल वातावरण
प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट् रिसाउने गर्छन् । सोचेजस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकास्मात रिसाउँछन्। त्यसको असर स्वयंलाई पुग्छ नै आसपासमा रहेकालाई पनि असर पुग्छ।

रिसलाई कसरी नियन्त्रण गर्ने ?

ध्यान
ध्यानले जीवनमा ठूलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तिपूर्ण वातावारण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तिमा एकपटक १५ देखि २० मिनेट सम्म भए पनि ध्यान गर्नुपर्छ । मीठो संगीतसँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ। ध्यानले क्षमता अभिवृद्धि, आत्माविश्वास बढाउनुका साथै शरीरलाई स्फूर्त राख्नका लागि महत्वपूर्ण भूमिका खेल्छ।

विचार
कुनै छलफल होस् या साथीभाइसँग कुराकानी गर्दा होस् - बोल्नुपूर्व विचार पुर्‍याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक अर्कामा खुलेर विचारहरू आदानप्रदान गर्न सकिन्छ । जसले गर्दा रिस हाबी हुन पाउँदैन ।

विकल्प
कुनै कुरामा चित्त बुझेको छैन या कुनै कुरामाथि रिस उठेको छ भने समाधानको विकल्प खोज्नु पर्छ । जसले जे गरेको हो त्यही किसिमको जवाफ वा प्रतिक्रिया दिँदा अपेक्षाकृत नतिजा नआउन सक्छ। त्यसैले झगडा हुन लागेका बेला आफूलाई नियन्त्रण गर्नु पर्छ । कसैले कुट्न थाल्यो भने या अपशब्द बोल्न थाल्यो भने आफूले पनि त्यही गर्नु हुँदैन । त्यसबेला त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ।

तनाव
रिस उठेको बेलामा रिसलाई दबाउने होइन कि आफूलाई रिसबाट मुक्त गराउने कलाको अभ्यास गर्नुपर्छ । र, आफूलाई तनाव मुक्त बनाएर मनलाई हलुका बनाउने प्रयास गर्ने गर्दा पनि रिसबाट तनावमुक्त बन्न सकिन्छ । संगीत सुन्ने, राम्रो राम्रो पुस्तक अध्ययन गर्ने, नृत्य गर्ने, घुम्‍ने गर्नु पर्छ । त्यसले मनलाई आनन्द प्रदान गर्छ।

हिँडडुल
रिसलाई सामान्य अवस्थामा ल्याउनका लागि तनावमुक्त वातावरणको सिर्जना गर्नुपर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ जसका लागि कोलाहाल र अशाान्तबाट निस्किएर बाहिरतिर हिँडडुल गर्नु जरुरी देखिन्छ ।