असार २३, २०७८ बुधबार

गोरखा - चिनियाँ सहयोगमा प्राप्त कोरोनाविरुद्धको खोप गोरखा सदरमुकाममै थन्किएको छ । चिनियाँ सहयोगमा चुमनुब्री गाउँपालिकाका सातवटा वडाका १८ वर्षदेखि ५४ वर्षसम्मका नागरिकलाई लगाउन भनेर गत बिहीबार जिल्लामा आएको तीन हजार मात्रा खोप स्वास्थ्य कार्यालयभित्रै थन्किएको हो ।

हेलिकप्टरमार्फत ढुवानी गर्न नसक्दा खोप कार्यालयकै गोदाममा थन्किएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए। २४ गतेपछि चीनबाट प्राप्त ५० लाख भेरोसेल खोपमध्ये गोरखालाई आवश्यक खोप आउने, तर भण्डारणका लागि ठाउँ खाली नभएको उनले बताए । 

गोरखाका सीमावर्ती क्षेत्रका लक्षित ३ हजार ७ सय ८९ जनालाई लगाउन सरकारले तीन हजार मात्रा खोप पठाएको छ । चुमनुब्री गाउँपालिकामा १८ वर्षदेखि ५४ वर्षसमूहका ३ हजार ७ सय ८९ जना छन् ।
खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले खोप ढुवानी गरी दिन माउण्टेन चाइल्डलाई बारम्बार आग्रह गरिरहेको बताए ।