असार ९, २०७८ बुधबार

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको औषधीय उपयोग र अनुसन्धानका लागि पहल सुरु भएको जानकारी गराएका छन् । १९ दिन पहिले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री तामाङले १९ दिनमा  कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको उल्लेख गरेका छन् । 
१९ दिन पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका तामाङसहित अन्य २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

यसअघि तामाङले नेपालमा गाँजा खेतीलाई वैधानिक रूपमा मान्यता दिनुपर्ने विषयलाई बहसका रूपमा अगाडि ल्याएका थिए । सुदूरपश्चिम प्रदेश सभामा पनि गाँजा खेतीलाई व‌ैधानिक बनाइनुपर्ने माग गरिएको छ । गाँजालाई परम्परागत औषधिका रूपमा प्रयोग गरिँदै आएकामा यसअघि नेपालमा यो बन्देज थियो ।