असार ७, २०७८ सोमबार

फाइल तस्बिर

एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकि एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ ।

लगभग एक लिटर पानी स्वासप्रस्वासका क्रममा बाफ भएर उड्छ । एक लिटर पानी छालाबाट पसिना भएर बाहिर निस्कन्छ । एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिर जान्छ ।

यसरी हिसाव गर्दा दिनमा २४ घण्टामा लगभग पाँच लिटर पानी बाहिरिन्छ । यद्यपि वातावरणीय मौसम र व्यक्तिको दैनिक क्रियाकलापले यसको मात्रामा केही थपघट हुनसक्छ ।

त्यसैले जति पानी बाहिर गयो त्यति नै पानी पिउनु पर्छ । अर्थात् २४ घण्टाको अवधिमा हामीले ५ लिटरको हाराहारीमा पानी पिउनुपर्छ । यदि केही रोग छैन अर्थात् स्वस्थ व्यक्ति हो भने ।

यहाँ बुझ्नु जरुरी छ कि पाँच लिटर पानी पिउनु भनेको सादा पानी मात्रै पिउनु भन्ने चाहि होइन । पानीसँगै हामीले खाने खानेकुराबाट पनि पानीको मात्रा शरीरमा गइरहेको हुन्छ ।

दुध, जुस, चिया, तरकारी, दाल आदि शरीरका लागि आवश्यक पानीका स्रोतहरू हुन् । त्यसैले यी सबै गरेर दिनमा पाँच लिटर जति शरीरमा पानी पुग्नुपर्छ ।

तर याद गर्नुस् यो मात्रा स्वस्थ व्यक्तिका लागि हो । यदि व्यक्तिमा रोग छ भने त्यो रोगको प्रकृति अनुसार पानी कम खानुपर्ने पनि हुनसक्छ ।

डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट