पाटन, १६ साउन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।
फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “फोहरबाट कसरी मोहर निकल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ । फोहरलाई व्यवस्थापन गर्दै पुनः प्रयोगका लागि ल्याउन उद्योगको रूपमा समेत कसरी विकास गर्ने भन्नेतिर ध्यान दिएर काम गर्न जरुरी छ ।”
उहाँले फोहरमैला व्यवस्थापनमा प्रभावकारी कानून निर्माणका लागि मन्त्रालयले मस्यौदा तयारीको काम अन्तिम चरणमा पु¥याएकाले मौजुदा कानूनमा उचित सुझाव दिनसमेत आग्रह गर्नुभयो । सबैका सुझावलाई समेटेर नै कानून निर्माण गर्ने आफ्नो र मन्त्रालयको सोच रहेको उहाँको भनाइ थियो ।
मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका काममा मन्त्रालयले ध्यान दिइरहेको बताउनुभयो । मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन, फोहरमैला व्यवस्थापनसम्बन्धी कानून, ढुङ्गा गिट्टी बालुवासम्बन्धी कानून निर्माणलाई अन्तिम चरणमा पु¥याएकोसमेत उहाँले बताउनुभयो ।
सङ्घीय मामिला मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले फोहरमैला व्यवस्थापनका विषयमा सङ्घीय ऐनमा नपरेका कुरा प्रदेश र स्थानीय तहले कानून बनाएर सम्बोधन गर्नसक्ने बताउनुभयो । “नेपाल सरकारको कार्य विभाजनअनुसार फोहरमैला व्यवस्थापन, नीति निर्माण, कानून बनाउने काम सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहको हो । मन्त्रालयले समन्वय र सहजीकरण गर्नसक्छ, नेतृत्व गर्नुपर्ने संवैधानिक र कानूनी दायित्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीका सरसफाइविज्ञ खेम शर्माले पालिका र पालिकाअन्तर्गतका निकायको सरसफाइको गुणस्तरमा वृद्धि गर्दै सरसफाइमा आधुनिक सामान र उचित रसायन अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने, सुरक्षासहितको पोसाक प्रयोग गर्नुपर्ने, सरसफाइ अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभएको थियोे ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले ऐन बनाउँदा वर्तमान मात्रै नभई भविष्यलाई पनि हेरेर कार्यान्वयन गर्न सजिलो हुने गरी बनाउनुपर्ने बताउनुभयो । “ऐन बनाउँदा वर्तमान मात्रै नभई भविष्यलाई पनि हेरेर कार्यान्वयन गर्न सजिलो हुने गरी बनाइनुपर्छ । सवारी साधनबाट आउने फोहर व्यवस्थापनका कुरा, प्लास्टिक बोतलको प्रयोगलाई निरुत्साहित गरिनुपर्ने व्यवस्था, फोहरमैला वर्गीकरणमा सङ्क्रमणजन्य फोहरलाई उत्पादनको स्रोतमा नै प्रशोधन गर्ने व्यवस्था हुनुपर्छ” उहाँले भन्नुभयो ।
उहाँले इलेक्ट्रोनिक फोहर व्यवस्थापनका कुरा र दिसाजन्य फोहर व्यवस्थापन र प्रशोधनका कुरालाई विकल्पसहित कानून ल्याइनुपर्नेमा जोड दिनुभयो ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उपत्यकाको सन्दर्भमा सबै नगरपालिकामा आफँैले फोहरमैला व्यवस्थापन गर्न मिल्ने गरी स्थान नभएकाले मन्त्रालयले व्यवस्थापन गरिदिनु आवश्यक रहेको बताउनुभयो । उहाँले फोहरमैलाको व्यवस्थापन गर्न नसक्दा पानीमा समेत समस्या देखिएको, तीनै तहका अधिकारमा बाझिने खालका प्रावधान वर्तमान तथा मस्यौदा भएको कानूनका दफामा रहेको धारणा राख्नुभयो । फोहर व्यवस्थापनका लागि प्रदेश सरकार मातहतमा नियमन गर्ने गरी एउटा समिति हुनुपर्नेमा उहाँको जोड थियो ।