जेठ २०, २०८० शनिबार

इन्दौर (मध्यप्रदेश), २० जेठ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत रहेका छन् । दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । भारत भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंश :

–प्रधानमन्त्रीज्यू, यहाँको चौथो भारत भ्रमणलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो । मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा मैले महसुस गरेको छु ।

–भ्रमण सफलताका आधारहरु के के हुन् ?

पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो । त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो । यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु । तीन पटक नै ‘वान टु वान’ वार्ता भएको त होइन, ‘वान टु वान’ त एक पटक नै हो । अरु कार्यक्रममा जाने क्रममा पाँच/सात मिनेट हामी दुई जना मात्रै बसेर कुरा गर्ने अवसर भयो । त्यसअर्थमा पनि हरेक पटक अलि खुलेर विश्वासको वातावरण बनाउने र केही परिणाम निस्कने किसिमले जानुपर्छ भन्ने बन्यो ।

दोस्रो, हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो । प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो । नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पु¥याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ ।