जेठ ४, २०८० बिहिबार

काठमाडौँ, ४ जेठ (रासस) : सङ्घीय संसदको  प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

 सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।
 
    समितिका सबै सदस्यले  बैठकमा प्रस्तुत सम्पति सुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफाबार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 
    सो बमोमिज बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,  सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०७९ माथि छलफल प्रारम्भ भएको छ ।
  
    यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पति शुद्धिकरण (मनि लाउण्डरिङग) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक समितिमा आएकाले यसमा  दफाबार छलफल गरी निष्कर्षमा पु¥याउनुपर्ने जानकारी गराउनुभएको थियो ।
 
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफाबार छलफल प्रारम्भ भएको हो । समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ । दफाबार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराउनुभयो ।
     
समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।