काठमाडौँ, २९ वैशाख: नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो ।
उहाँ अविवाहित हुनुहुन्थ्यो । विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।