बैशाख १४, २०८० बिहिबार

सिन्धुपाल्चोक, १४ वैशाख: लिसङ्खुपाखर गाउँपालिकाकाले  किवि किसानलाई किवि टि–वार वितरण गरिएको छ ।

    पालिकाको आर्थिक वर्ष २०७९÷८० मा स्वीकृत  कार्यक्रम अन्तर्गत  गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवि खेती गर्ने किसानलाई किवि टि–वार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले जानकारी दिनुभयो ।
 
    किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टि–वार हिजो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले किसानलाई हस्तान्तरण गर्नुभयो  ।  विष्टले पालिकाको किवि खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा किवि टि–वार वितरण गरिएको जानकारी दिनुभयो । 

    गाउँपालिकाले किसानसँग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उहाँको भनाइ छ । वडाअध्यक्ष भक्तलाल शाक्यले गाउँपालिकाले अनुदान दिएको सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
    
    गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसङ्खुपाखरमा एक सयभन्दा बढी किसान किवि खेतीमा संलग्न छन् । जसमध्ये निम्न आय भएका किसानलाई प्राथमिकतामा राखी तीन सय आठ किवि टि–वार वितरण गरिएको हो । 

    उहाँका अनुसार फलामको टि–वार प्रतिगोटा ढुवानी समेत गरेर रु दुई हजार पाँच सयमा गाउँपालिकाले खरिद गरेको हो । किसानले अब एक हजार दुई सय ५० मै पाउने छन् । अन्य किसानलाई पनि क्रमशः टि–वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिनुभयो ।