चैत २८, २०७९ मंगलबार

सिन्धुपाल्चोक, २८ चैत (रासस) : पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि  १७ थान नौ र १० एचपी  मिनिटिलर  वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।
 
     समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह,  तालिम, उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउन थप कार्यक्रमको आपेक्षा गरिएको स्थानीय हसिना वाइवा  बताउँनुहुन्छ । ती सामग्री हस्तान्तरण गर्दै  गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि आँैजार वितरण गरिएको जानकारी गराउँदै किसानका समस्या समाधान गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

कृषि औँजार बिग्रने र बनाउन समस्या भएपछि किसानको समस्यालाई दृष्टिगत गर्दै पालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको अधिकारीले बताउनुभयो  । पालिकाले यसअघि पनि विभिन्न बीउविजन र कृषि सामग्री, तालिम  किसानलाई दिँदै आएको थियो ।