चैत २२, २०७९ बुधबार

गण्डकी, २२ चैत (रासस): कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ । गाई–भैँसीमा नै हुने अर्को भ्यागुुते र चरचरे गरी २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको छ ।

त्यस्तै भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्धमा ६१ हजारभन्दा बढी खोप लगाइएको डा पाण्डेले जानकारी दिनुभयो । खोप लगाउनका लागि गाउँ–गाउँमा किसान सचेत कार्यक्रम भइरहेको र स्वतःस्फुर्त माग पनि बढिरहेको उहाँले बताउनुभयो ।

खोपको बारेमा हेम्जा गाई फार्मका सञ्चालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुईपटक र अन्य खोप एकपटक लगाउने नीति सरकारले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउँदै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो ।

भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको र महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोप गाउँपालिकामा पु¥याउने उहाँको भनाइ छ । पूर्णखोप कार्यक्रमले पशुवस्तुमा हुने क्षति न्यूनीकरण गरेको अर्का किसान शोभाखर भण्डारीले जानकारी दिनुभयो ।