फागुन १९, २०७९ शुक्रबार

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मृगौला र  एक कलेजोको सफल प्रत्यारोपण गरेको छ । 

केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन १६ गते तीन जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । उक्त प्रत्यारोपणको नेतृत्व डा.पुकार चन्द्र श्रेष्ठले गरेका थिए । कलेजो प्रत्यारोपण टिममा डा.रोशन घिमिरे,डा.ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । 

मृगौला प्रत्यारोपण टिममा प्रा. डा. राकेश कुमार बर्मा, प्रा.डा. पवन चालिसे, डा.दिपेश श्रेष्ठ, डा।रवि किरण गौतम,डा.हरि बराल, डा. रोजन अधिकारी लगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो । २०७४ वैशाख २८ बाट मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण गर्ने सेवा सुरु गरेको यस केन्द्रले हालसम्म जम्मा १३ जनामा प्रत्यारोपण गरिसकेको छ । यस कार्यमा नेपाल सरकार , पूर्व मन्त्रीहरु, सचिवहरु पूर्व सचिवहरु लगायतको साथ र सहयोग रहेको प्रत्यारोपण केन्द्रका निर्देशक डा।पुकार चन्द्र श्रेष्ठले बताए । 

मस्तिष्क मृत्यु हुने व्यक्तिले आँफू जीवित हुँदा मृत्युपश्चात अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्युपश्चात निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु पश्चात् अंग प्रत्यारोपणको कार्यको थालनी यसै केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो । अझै पनि नेपालमा जनचेतनाको कमीका कारण अंग दानको कानुन बने पनि त्यो कार्यान्वयन हुन नसक्नु दुखद रहेको डा.श्रेष्ठले बताए । गाडेर खेर जाने वा जलेर खरानी हुने अंगहरु दान दिन सके एक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ । यसरी अंगदान गर्न सकेको अवस्थामा नेपाल प्रत्यारोपणमा आत्मनिर्भर हुने डा.श्रेष्ठको दाबी छ ।