फागुन १५, २०७९ सोमबार

काठमाडौं:  डा प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको हो।

उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ। उनले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।

दिवसकै अवसरमा अन्य चार जना स्वास्थ्यकर्मीहरूलाइ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। पुरस्कार पाउनेमा नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा छन्। उनीहरूलाई जनही ५० हजार रूपैयाँ र ताम्रपत्र पुरस्कार स्वरूप प्रदान गरिएको हो।

यस किसिमको पुरस्कारले आफूहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार महसुस गराएको र हौसला मिलेको उनीहरूले बताएका छन्।

पुरस्कार छनोटको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगित कौशल मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।