फागुन ४, २०७९ बिहिबार

४ फागुन काठमाडौँ। गोरखामा रेबिजका कारण एक बालकको ज्यान गएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ का चार वर्षीय बालकको रेबिजका कारण ज्यान गएको हो । 

बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका-४ को बालुवा बजारमा कुकुरले टोकेको थियो । 

स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो ।

काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो  ।

रेबिजका कारण बालकको ज्यान गएपछि अजिरकोट गाउँपालिका-४ बालुवा बजार र बालकको घर भएको ठाउँ बारपाक सुलिकोट गाउँपालिका-४ मा पनि अभिमुखीकरणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।