माघ १८, २०७९ बुधबार

 सत्तारुढ नेकपा (एमाले)का सांसद एवम पूर्वमन्त्री रघुजी पन्तले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेका छन्।  बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान र कानुन विपरित प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अस्वीकार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।  संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्नेमा त्यस विपरित जानु मुलुकको लागि हितकर नभएको बताए। उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरुलाई डेढ घण्टासम्म भएपनि उपस्थित हुने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराए । 

‘यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरुले आफ्नो गतिविधिलाई, अभिव्यक्तिहरुलाई अगाडि बढाउनु पर्दछ । संविधान अनुसार सपथग्रहण गर्नु भएको, संविधान र कानुन अनुसार चल्छु भनेर सपथ लिनु भएको मन्त्रीज्यूहरुले प्रधानमन्त्रीज्यूसँग यसरी आफ्ना कुरामा अन्तरविरोध गर्न मिल्दैन,’ सांसद पन्तले भने, ‘प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरुबीच यसरी सार्वजनिक रुपमा विवादमा आएको राम्रो होइन । यस्तो विषयमा उहाँहरुबीच छलफलको जरुरी छ भने क्याविनेट वा उहाँहरुबीच बसेर छलफल गर्ने हो । तर सार्वजनिक गर्न मिल्दैन। सार्वजनिक अभिव्यक्तिहरुमा प्रधानमन्त्री र मन्त्रीज्यूहरुको अभिव्यक्ति बाझिनु राम्रो कुरा होइन।’ सांसद पन्तले संसदको गरिमालाई उचो राख्न पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरुले केही समय दिनुपर्ने तर्क समेत गरे।