डोटी: डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य संस्थाले अन्य सङ्क्रमितको खोजी गर्न थालेको छ । दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेको हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हो ।
कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ । पुस २९ गते बालकको रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दादुराको रिपोर्ट पोजेटिभ आएपछि हामीले बालकको खोजी गर्यौँ, बालक माघ १ गते नै कैलाली फर्किसकेका रहेछन्, अन्यमा पनि दादुरा सरेको छ कि भन्नेर खोजी गर्दैछौँ ।’
बालकमा दादुरा पुष्टि भएपछि उनी बसेको घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएको खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दादुरा सरुवा रोग भएका कारण अन्य बालबालिकमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी बढाइएको स्वास्थ्य शाखा संयोजक माझीले बताउनु भयो। उहाँका अनुसार अहिलेसम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन ।
दादुरा पुष्टि भएका बालकलाई दादुरा विरुद्धको खोप लगाइएको आफन्तले जानकारी दिएका बताइएको छ ।