माघ ८, २०७९ आइतबार

काठमाडौं । सरकारबाट बाहिरिने चेतावनी दिएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि बोलाउनु भएको छ ।

जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीको सचिवालयले जनाएको छ ।

आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने चेतवनी दिएको जनमत पार्टीलाई अन्तत: प्रधानमन्त्री दाहालले छलफलका लागि बलाउनु भएको हो ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि संसद्‌बाटै सरकार र त्यसमा संलग्न अन्य पार्टीहरूको रवैयाप्रति आपत्ति जनाउनु भएको थियो । मधेस केन्द्रित दलहरूलाई शक्ति बाँडफाँटमा कम आँकेको भन्दै उहाँले यसविरुद्ध प्रतिकार हुने चेतावनी दिँदै आउनु भएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको क्रममा जनमत पार्टीबाट मन्त्री बनेका खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि पार्टी अध्यक्ष सीके राउत रुष्ट हुनुभएको छ ।

सुरुमा जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । उक्त मन्त्रालय दिने वचनपछि प्रधानमन्त्री दाहालसँगै जनमत पार्टीका सांसद खानले मन्त्रीको शपथ लिएका थिए ।