माघ ४, २०७९ बुधबार

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसद्को सभामुखका लागि योग्य व्यक्ति भएको जिकिर गर्नुभएको छ । 

बुधवार कांग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रूपमा संसद् भवन पुग्नुभएका महामन्त्री शर्माले अहिलेको संसद्का लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक कांग्रेसबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई अन्य दलले सभामुखमा जिताउनुपर्ने बताउनुभयो । 

महामन्त्री शर्माले सभामुखकी उम्मेदवार न्यौपानेमा शालीनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एक पटक महिला सभामुखका साथै सुसूचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको तर्फबाट मात्रै नभएर सरकारभन्दा बाहिर रहेका दलहरूको तर्फबाट उम्मेदवारको रूपमा ईश्वरी न्यौपाने प्रस्तुत हुनुहुन्छ । सांसदले विवेकपूर्ण रूपमा मतदान गर्दै गर्दा नेपालको संसद्ले पुनः महिला सभामुख पाउनेछ । न्यौपाने अहिलेको संसद्को अवस्थालाई र समाजको मनोविज्ञानलाई पनि राम्रो ढङ्गले सम्बोधन गर्नसक्ने व्यक्तित्व हुनुहुन्छ ।’ 

महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागबन्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवाररूपमा अघि बढ्ने बताउनुभयो ।