माघ ४, २०७९ बुधबार

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकमा सभामुख पदमा महिलालाई उम्मेदवार बनाउनेबारे छलफल भएको छ ।

पार्टीले नेतृहरु अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईमध्ये एकजनालाई उम्मेदवार बनाउनेबारे छलफल भएको स्रोतले जनाएको छ । उम्मेदवारको नाम टुंगो लगाउन संसदीय दलको बैठक बस्दैछ ।

संसदीय दलको बैठक सिंहदरबारमा १ बजे बोलाइएको स्रोतले जनाएको छ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखको मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्छ । संसदमा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।