नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ध्रुवहादुर प्रधान कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद प्रधानले संसद्बाट अनुमोदन हुने कानूनको मस्यौदा निर्माण गर्नुुपर्ने मूल दायित्य प्राप्त गरेका हुन्। राप्रपाका सांसद प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानूनमन्त्री नियुक्त गरेका हुन्।
७४ वर्षीय प्रधानले नवलवरासी–२ बाट पूर्व गृहराज्यमन्त्री रहेका कांग्रेस नेता देवेन्द्रराज कँडेललाई हराउँदै संसद्को यात्रा तय गरेका हुन्। आफ्नो पार्टी राप्रपा सरकारमा सहभागी भएसँगै प्रधानले सरकारमा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन्।
३० वर्ष नेपाल प्रहरीमा सेवा गरेका प्रधान २०५३ देखि ०५४ सम्म संगठन प्रमुखको भूमिकामा रहे। प्रहरीको जागिरबाट अवकाश लिएपछि भने उनी राप्रपाबाट राजनीति गर्न थाले। तर, उनका लागि राजनीति सजिलो भने भएन। चौथो प्रयासमा उनी सांसद बनेका हुन्।
२०५६ बाटै चुनाव लड्न थालेका प्रधान मंसिर ४ अघिका तीन निर्वाचनमा पराजित भएका थिए।
नेपाल प्रहरीका १७औं महानिरीक्षक रहेका प्रधानले प्रहरीमा खेलकुदको विकासका लागि उल्लेख्य भूमिका खेलका थिए। उनी प्रहरीभित्र हक्की प्रहरी अधिकृतका रूपमा परिचित छन्।