काठमाडौं: जनमत पार्टीका अब्दुल खानले पदभार ग्रहण अस्वीकार गरेका छन्। शपथग्रहण गरेको २२ दिनपछि कार्यभार तोकिएका खान पदभार ग्रहण गर्न खानेपानी मन्त्रालयमा जान अस्वीकार गरेका हुन्।
पूर्वसहमति अनुसारको मन्त्रालय नपाएको भन्दै उनले पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन्। यसअघि जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको थियो। तर, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टी जनाएका हुन्। पुस ११ गते प्रचण्डसँगै शपथग्रहण गरेका खान हालसम्म बिना विभागीय मन्त्री भएर बसेका थिए।
उनले आफूहरूको चाहनाअनुसार मन्त्रालय नपाएकाले प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्ने बताए।