माघ २, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले सोमबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए।

भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सद्भाव र भ्रातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए।