माघ २, २०७९ सोमबार

खोटाङ: खोटाङको रावाबेसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् ।

कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएपछि नागरिक लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकावासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 

अस्पतालबाट चौबिस घण्टा इमरजेन्सी, ओपीडी, प्रसूति, भिडियो एक्स–रे, ईसीजी लगायतका स्वास्थ्य सेवा उपब्ध गराइएको छ । गाउँपालिकाको कुभिन्डे, हौंचुर, दुबेकोल, डुम्रेधारापानी लगायतका वडाका स्थानीयले अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको डा। मनोजकुमार शाहले बताउनुभयो । 

कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको थियो । कोरोना महामारीको सङ्क्रमण सामान्य भएसँगै सवैजसो अस्थायी कोभिड अस्पताल बन्द गरिए पनि रावाबेसी गाउँपालिकाले भने पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिएको हो ।

अप्रेसन गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको छ । स्वास्थ्यउपचारका लागि अन्यत्र जान नसक्ने निम्न आर्थिक अवस्थाका नागरिकलाई लक्ष्यित गर्दै कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।