काठमाडौं: नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ।
अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए। अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो। नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन।
महाअधिवेशनअघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ। महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ।
माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीबाट प्रतिनिधि छनोट गरिने महासचिव बडालले जानकारी दिए।
महाधिवेशनका लागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।
यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेका जनसङ्गठनको भेलाले राष्ट्रिय अधिवेशन÷सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो। उनका अनुसार अधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कमिटी चयन गरिनेछ। अधिवेशन काठमाडौँमा हुने जनाइएको छ।
यस्तै अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०को सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते गर्ने निर्णय गरेको छ। काठमाडौंमा भएको अनेमसङ्घको सचिवालयको बैठकले सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको अनेमसङ्घका सचिवालय सदस्य सदीक्षा चौहानले जानकारी दिइन्।
यस्तै अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेसागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ।