पुस २९, २०७९ शुक्रबार

ललितपुर – नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको सुरुवात गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभामा बोल्दै सांसद पाण्डेले सरकारी कार्यालयमा कर्मचारीले हप्ताको एक पटक नेपालमा उत्पादित पोसाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरूले अनिवार्यरूपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘तपाईँका क्याबिनेट बैठकमा कम्तीमा मन्त्रीले नेपाली उत्पादन लगाएर आउने व्यवस्था गर्नुहोस् । साथै हरेक आइतवार वा सोमवार, हप्ताको एक पटक नेपाली उत्पादनको प्रयोग गर्ने क्रम चलाउनुहोस् । यसले स्वदेशी उत्पादन प्रयोग गर्न मद्दत पुग्छ ।’ 

सांसद पाण्डेले आउँदा दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरूको प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले आफू बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई तीन महिने आवासीय तालिम दिने काम सुरु गरेको बताउनुभयो । सरकारले आउँदा दिनमा पाँच लाख जनालाई वार्षिक तालिम दिने गरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने उहाँको भनाइ छ । 

सांसद पाण्डेले प्रधानमन्त्री प्रचण्ड देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाका लागि आवश्यक कामहरू पूरा गर्न आग्रह गर्नुभयो ।