काठमाण्डौ: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरङ्कुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरीत भएको बताउनु भएको छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले भोलि २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसको विरोध गर्नु भएको हो ।
यो कार्यले शहीदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने पनि यादवको दाबी रहेको छ । जसपाले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो तर सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।