काठमाडौं: कान्ति बाल अस्पतालले आफ्नो ६१औं वार्षिकोत्सव मनाएको छ। अस्पतालले आज एक कार्यक्रमबीच आफ्नो ६१औं वार्षिकोत्सव मनाएको हो। कान्ति बाल अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताए।
उनले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिको लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताए।
उनले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयको दरबन्दी पुगेन रे भन्ने आउँछ, हामीले कान्तीबाल अस्पतालको वेनाम गरिसकेका छौँ। स्वास्थ्यबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र सामान्यमा पठाइसकेका छौँ। हामी यसमा लागिरहन्छौँ। सकेसम्म छिटै दरबन्दी पूरा गराएर नर्सिङ र म्यानपावर जहिले पनि खड्किन्छ। त्यो पूरा गर्ने वाचा गर्दछु। एक हजार बेडको अस्पताल बनाउने यहाँका निर्देशकज्युहरुले धेरै पहिलादेखि लिनुभएको चाहना पूरा गर्न हामी काम अघि बढाउँछौँ।’
सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुसी आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताए।