पुस २१, २०७९ बिहिबार

काठमाडौँ- बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ। अस्पतालका कार्यककारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा निरज भट्टराईका अनुसार यो मेसिन छिट्टै संचालनमा आउने छ।

डा भट्टराईको अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो। यो रेडियोथेरापीको लागि अति आवश्यक मेसिन हो। उनका अनुसार नेपालको चितवनबाट पश्चिम क्षेत्रमा र सुदूरपश्चिममामा यो पहिलो लिन्याक मेसिन हो। 

यो मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईको लागि भारत या काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए। 'यो मेसिन सुशील कोइराला अस्पतालमा  संचालनमा आउनाले क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने भएको छ। अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई यहींबाट हुने भएको छ,' उनले भने। 

उक्त मेसिन नेपाल सरकारको अनुदानमा प्राप्त भएको डा भट्टराईले बताए। अब आउने दिनहरुमा बिरामीहरुलाई अस्पताल सम्म आईपुग्न सहज वातवरण बनाउन अस्पतालले गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्ने, थप एम्बुलेन्स लगाएतका व्यवस्था गर्ने र क्यान्सरसँग सम्बन्धी जचेतानामुलक कार्यक्रम गर्ने जनाएको छ।
अनुदान प्राप्त भएको लामो समयपछि धेरै प्राविधिक जटिलताकाबीच मेसिन अस्पताल आईपुग्दा निकै खुसी लागेको डा भट्टराईले बताए।