काठमाडौं । सात दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । सोही गठबन्धनमा राष्ट्रपति नेकपा एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ ।
एमालेले राष्ट्रपतिको आकांक्षीबारे बोलेको छैन । तर, एमालेबाट पुरुष नेता राष्ट्रपति बन्ने चर्चा छ । उपराष्ट्रपतिमा माओवादी केन्द्रभित्र आधा दर्जन आकांक्षी देखिएका छन् । कतिपयले पार्टी अध्यक्ष प्रचण्डसँगै प्रस्ताव गरेका छन् भने केहीको पार्टीभित्र चर्चा छ ।
अहिले उपराष्ट्रपति नन्दबहादुर पुन छन् । उनी माओवादीबाटै उपराष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल फागुन अन्तिम साता सकिँदै छ । त्यसैले माओवादीबाट को उपराष्ट्रपति पदको उमेद्वार होला भन्ने चासो छ । उपराष्ट्रपतिको उमेदवार बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक/फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी हुनुपर्छ । यस्तोमा एकै दलको राष्ट्रपति र उपराष्ट्रपति वा दुवै एकै लिंगका पनि हुँदैनन् । पार्टी पनि फरक–फरक हुनुपर्छ ।
अहिलेकै अवस्थामा एमालेबाट पुरुषलाई राष्ट्रपतिको रुपमा अगाडि सारिए माओवादीले महिलालाई अनिवार्य रुपमा अगाडि सार्नुपर्छ । तर, महिलालाई राष्ट्रपतिमा अगाडि सारे पुरुष उपराष्ट्रपति हुन पाउँछन् ।
माओवादीभित्र पूर्वसभामुख ओनसरी घर्ती, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी र पूर्वमन्त्री जयपुरी घर्तीको नाम उपराष्ट्रपतिका लागि चर्चामा छ ।
यसबाहेक माओवादी नेता लिलामणि पोखरेल, दिनानाथ शर्मा र माओवादीकै जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाईंको नाम चर्चामा छ । प्रसाईंले प्रचण्डसँगै आफूलाई उपराष्ट्रपतिमा अगाडि सार्न आग्रह गरिसकेको एक पदाधिकारीले बताए ।
पोखरेल, शर्मा र प्रसाईं तीनैजना माओवादीका पुराना नेता हुन् । माओवादीले पुरुषबाट उपराष्ट्रपति बनाउनुपर्ने अवस्था आए लिलामणिको सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।
ओनसरी संघीय निर्वाचनमा काठमाडौं–२ बाट पराजित भएकी थिइन् । उनले आधिकारिक रुपमा भने यसबारे केही ह बोलेकी छैनन् ।
एमालेले पुरुष पात्रलाई अगाडि सारे जयपुरी घर्ती वा पूर्णकुमारी सुवेदी उपराष्ट्रपति बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । ओनसरी निर्वाचनमा पराजित भएको र पार्टी राजनीतिमै सक्रिय हुने उनको इच्छा रहेको नेताहरु बताउँछन् ।