पुस १४, २०७९ बिहिबार

काठमाडौं: बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण आज हुँदैछ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ। जस अनुसार प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले हिजो नै प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरिसक्नु भएको छ।

आज बाँकी १ सय ९ प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गरानेछन्। शपथ ग्रहणको कार्यक्रम दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ। यस्तै बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखयादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ। 

यता गण्डकी प्रदेशसभाका सदस्यहरुले पनि आज शपथ लिँदैछन्। दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा शपथको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

हिजो प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले अरु सदस्यलाई शपथ गरानेछन्। ६० प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा आज ५९ जना सदस्यले शपथ लिने छन्।