पुस १३, २०७९ बुधबार

काठमाडौं: नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले साँत बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ। आगामी माघ ६ गतेबाट हुन लागेको संघको निर्वाचनलाई लक्षित गर्दै समूहले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको हो। 

विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सक सेवा ऐन बनाउने विषयलाई पेशागत समावेशी समूहले पहिलो एजेण्डाको रुपमा अघि सारेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी हालको व्यवस्थालाई यसै ऐनभित्र राखी थप चिकित्सकमैत्री बनाउने उक्त एजेण्डामा उल्लेख छ। 

दोस्रो एजेण्डामा पढाईमा सधैं अब्बल, कमाइमा कहिले हुने सबलरु तेस्रो, सबै डाक्टरस् एक पटक सरकारी डाक्टर सबै डाक्टरलाई रोजगारीस् १० वर्षमा घर गाडी, चौथोमा वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ, पाँचौमा एक चिकित्सक, एक स्वास्थ्य संस्था, छैठौँमा चिकित्सा शिक्षास् सुधार र रोजगारीको अवसर र सातौँमा संघीयता कार्यान्वयनको आधारस् एनएमएमा संगठनात्मक सुधार भन्ने विषय रहेको छ।

पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघको अध्यक्षका उम्मेदवार डा पौडेलले संघमा नयाँ नेतृत्वको आवश्यकता भएको बताए। संघ पुरातनशैलीमा चलेको बताउँदै उनले नयाँ नेतृत्व, नयाँ सोच आवश्यक भएको उल्लेख गरे। 

पेशागत समावेशी समूहबाट अध्यक्षमा डा पौडेलसहित उपाध्यक्षमा डा महेश महासेठ (मधेश प्रदेश), डा सञ्जय ठाकुर (बागतमी प्रदेश), डा विकास गौचन (गण्डकी प्रदेश) र डा निरज अर्याल (सुदूरपश्चिम प्रदेश) उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। 

यस्तै, महासचिवमा डा रक्षा श्रेष्ठ, सदस्यहरुमा डा अभियान गौतम, डा रामकृष्ण आचार्य, डा पदम नेपाली, डा रमेश श्रेष्ठ, डा स्मृति महत र डा सुरेन्द्र यादव सदस्यका प्रत्यासी हुन्।