पुस १०, २०७९ आइतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा वामपन्थीबहुल सरकार बन्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार भएको बैठकमा साढे २ वर्षको पहिलो कार्यकालका लागि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको हो ।

सरकारमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन् ।

संसद्मा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । यी सबै जोड्दा १६६ सीट पुग्छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी भएको छ । 

संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्नका लागि राष्ट्रपतिले दिएको समय आज साँझ ५ बजेसम्म छ ।

प्रचण्डले विश्वासको मत लिँदा एमाले र माओवादी पृष्ठभूमिका अन्य ३ स्वतन्त्र सांसदको समेत समर्थन मिल्न सक्ने सम्भावना छ ।