बैतडी– बैतडीको मेलौलीमा अस्पताल निर्माणका विषयमा दुई पक्षबीच भएको विवादका कारण रोकिएको यातायात सेवा सुचारु भएको छ। आन्दोलनरत दुवै पक्षसँग समन्वय गरेर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
नगर प्रमुख भीमहादुर चन्द र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आवश्यक समन्वय तथा छलफलपछि दुई दिनभित्रै माग सम्बोधन गर्ने आश्वासन दिएपछि बन्द फिर्ता लिएको आन्दोलनका क्रममा सडकमै रहेका मेलौली नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष शरदसिह नेगीले बताए।
‘प्रमुख जिल्ला अधिकारी र वर्तमान मेयरज्यूले त्यहाँ आएर समस्या समाधन गर्ने भनेपछि सडक जाम हटाएका हौं, अन्यथा फेरि आन्दोलन हुन्छ,’ उनले भने।
आन्दोलनरत वडा नं १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका विषयमा विवाद हुँदा गएको तीनदिन मेलौलीमा तनाव सिर्जना भएको थियो। बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए।
वडा नं ७ का स्थानीयले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका छन् भने वडा नं १ का स्थानीयले वडा नं १ को बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका छन्। दुवै पक्षले आ–आफ्नो क्षेत्रमा अस्पताल निर्माणको माग गरेपछि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन।
२०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणका विषयमा विवाद हुँदै आएको छ। पछिल्लो समयमा वडा नं १ का अस्पातल निर्माणका लागि डीपीआर तयार भइसकेको भन्ने कुरा बाहिर आएपछि वडा नं ७ का बासिन्दाले नगरपालिकामा तालाबन्दी गरेका हुन्।
दुवै पक्षले आ–आफ्नो अडान नछोडेका कारण अस्पताल निर्माणका विषयमा सहमति हुन सकेको छैन। यसैकारण मेलौलीमा अस्पताल निर्माणको विवाद पेचिलो बन्दै गएको छ।