काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन । बिहिबार राति सञ्चारकर्मी कमल सरगमले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै परियार को अवस्था पीडादायक रहेको बताएका छन् ।
परियार बोल्न समेत नसक्ने अवस्थामा रहेको र खर्चको अभावका कारणले राम्रो उपचार हुन नसकेको सरगमले उल्लेख गरेका छन् । परियारको स्वास्थ्य अवस्था जटिल हुँदै गएको सरगमले बताएका छन् ।
एक युट्युवमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गायका छन् । महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका परियार केही समय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए ।