पुस ६, २०७९ बुधबार

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ पुस ११ गते हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले पुस ११ गते शपथ गराउनेबारे छलफल भएको जानकारी दिए।
यस्तै ०७४ मा पहिलो दल बनेको नेकपा एमाले यो पटक तेस्रो स्थानमा छ । एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । सो पार्टीले समानुपातिक तर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ । समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का सांसद बनेकी छन् ।

यस्तै ०७४ मा १ सिटसहित प्रदेशसभामा उपस्थिति जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद बनेकी छन् ।

प्रदेशसभाको अंकगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । तर गठबन्धनभित्र कांग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ । त्यसका लागि विभिन्न दलका प्रदेशसभा सदस्यहरू यतिबेला संघीय राजधानी काठमाडौंमा छन् ।

कांग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ ।

प्रचण्डले निर्वाचन हुनुभन्दा पहिला सुर्खेत विमानस्थलमा कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने गरी भागबन्डा गरिने र जसरी पनि माओवादीले सरकारको नेतृत्व सुरुमा गर्ने आश्वासन दिएका थिए ।

तर चुनावको समयमा हुम्ला पुगेर बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ‘कन्टिन्यू’ गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यसैले दुवै दलका नेताहरू यतिबेला सरकार बनाउने कुरामा केन्द्रमा निर्भर छन् ।