काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले बुधवार पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए।
त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरे। पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए।
उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताए। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए।
उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘सभामुखको भूमिका स्पष्ट छ। तटस्थ हुनुपर्छ। देशको भलोका लागि सबैको बीचमा समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ। सबैसँग समन्वय गरेर अघि बढ्छु। सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्छु। केही दिनका लागि भए पनि मुलुकको अभिभावकको रूपमा देशलाई अगाडि बढाउन पहल गर्नेछु।’
ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए।
राप्रपाका पूर्वअध्यक्षसमेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधि सभामा सबैभन्दा बढी उमेरको सांसद हुन्। मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीवार जबराले शपथग्रहण गराउनेछन्। संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन्।