अदुवाको माग बजारमा घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन् । ‘अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ’, उनले भने ।
गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनी बताउँछन् । ‘बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दैछौँ”, उहाँले भन्नुभयो, “लगानी नै उठ्दैन यसपटक ।’
बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक राना बताउँछन् । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उनको भनाइ छ । “अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ”, उनले भने ।
कृषक रानाले वार्षिकरूपमा सात सय धार्नी अदुवा उत्पादन गर्छन् । यसपटक अलि कुहिएकाले छिटो निकालिएको उनी बताउँछन् ।