काठमाडौं । रुघाखोकीविरुद्धको खोप नलिएकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
सामान्य रुघाखोकी बिगे्रपछि निमोनिया हुने र त्यसले गर्दा बर्सेनि धेरै नेपालीको मृत्यु हुने गरेको उनीहरूको भनाइ छ । त्यसरी मृत्यु हुनेमा जोखिम समूहका व्यक्ति मात्र नभएर वृद्धवृद्धा र बालबालिकाको समेत पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
‘फ्लु भाइरसका कारण श्वासप्रश्वास नलीमा संक्रमण भएपछि निमोनिया भई मृत्यु हुने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक निर्देशक तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने ।
नेपालमा हालै फैलिरहेको मौसमी रुघाखोकीले निमोनियाको जटिल रूप निम्त्याउने हुनाले सबै नागरिक सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ । हाल ठुला अस्पतालहरूमा नियमित बिरामीभन्दा १५ प्रतिशत मौसमी रुघाखोकीका मात्र बिरामी उपचारका लागि पुगेका छन् ।