सिन्धुलीमा मूलाखेतीका लागि उपयुक्त मौसम भएकाले यस वर्ष मूलाको उत्पादन बढेको छ ।
व्यवसायिक रूपमा मुलाखेती गर्दै आएका किसानहरू मूलाको उत्पादन बढेपछि पर्याप्त आम्दानी गर्न सफल भएका हुन् । सिन्धुलीको कमलाखोंच, सुनकोशी र गोलन्जोर लगायतका विभिन्न स्थानहरूमा यस वर्ष गरिएको मूलाको व्यवसायिक खेतीबाट करिब ४ करोड आम्दानी हुने अनुमान समेत गरिएको छ ।
जिल्लामा उत्पादन भएका मूला सदरमुकाम सिन्धलीमाडी र भिमान जस्ता बजारहरूमा बिक्री वितरणका लागि पुर्याइने गरिएको छ । विगतमा परम्परागत रूपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने मूला खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा समेत सहज भएको छ । अन्य तरकारीको तुलनामा तरकारी, अचार र सलादमा अधिकतम रूपमा प्रयोग हुने मूलाको खपत पछिल्लो समयमा बढेर गएको छ ।
आईरन र कार्बोहाईड्रेड अधिकतम रूपमा पाईने मूला मानव शरीरको लागि फाईदा हुने र तरकारीको रूपमा लिईन्छ । कृषि ज्ञान केन्द्रको एक तथ्यांकका अनुसार सिन्धुलीमा मिनअर्ली, ह्वाईटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु उत्पादन हुने गरेका छन् ।