मंसिर ११, २०७९ आइतबार

सिन्धुलीमा जुनार फललाई प्रशोधन गरी जुस र स्क्वासका साथै अन्य विभिन्न खाद्य तथा पेय पदार्थ बनाउन थालिएसँगै कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसको प्रयोग बढ्न थालेको छ ।

जुनार उत्पादन हिउँदा महिनामा हुने र हिउँदमा सस्तो मूल्यमा बिक्री वितरण गनुपर्ने जुनारलाई स्थानीयस्तरमा स्थापना भएका घरेलु प्रशोधन उद्योगलाई बिक्री गर्दा स्थानीय जुनार कृषकहरूले राम्रो मुनाफासमेत पाएका छन् ।


सिन्धुलीको सदरमुकाम माडी बजारमा स्थापना भएका विभिन्न घरेलु प्रशोधन उद्योगबाट जुनारको जाम, जुस स्क्वास सर्वत तथा कागती र निबुवाका विभिन्न चिसो पेय तथा खाद्य पदार्थहरू समेत तयार भएर काठमाडौं लगायत देशका विभिन्न शहर बजारमा बिक्री वितरणका लागि पठाइएको छ । स्थानीय स्तरमा प्रशोधन उद्योग स्थापना नहुँदा सिन्धुलीमा उत्पादन भएका जुनारहरू मध्ये धेरै नै ढुवानीका क्रममा बिग्रेर खेर जाने गरेको थियो । प्रशोधन उद्योगका कारण कृषकहरुलाई जुनार खेतीलाई व्यवस्थित रुपमा विकास–विस्तार गर्न समेत हौसला प्रदान गरेको छ ।

प्रशोधन उद्योगहरूले स्थानीय किसानहरुबाट मानिसहरूले हिउँदा याममा जुनार किनेर संकलन गर्ने र पेल्ने गरेका छन् । उनीहरूले पेलेर राखिएको तरल पदार्थबाट वर्षायाम समेत विभिन्न पेय तथा खाद्य सामग्रीहरु तयार गर्ने गरेका छन् । प्रशोधन उद्योमा उत्पादन भएको चिसो पेय तथा खाद्य सामग्रीहरू शहर बजारको तुलनामा अत्यन्त स्वादिलो र गुणस्तरीय भएकाले ग्राहक र व्यापारीहरू काठमाडौं, जनकपुर र विराटनगर आदि स्थानहरूबाट खरिद गर्न सिन्धुली आउने गरेका छन् ।

सञ्चालिन सोही प्रशोधन उद्योगले सिन्धुलीमा चिसो पेय र चिसो खाद्य सामग्रीको आवश्यकतालाई पूर्ति गरिदिएको छ ।