काठमाडौँ । कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष सरकारले धानको समर्थन मूल्य केही बढी तोकेको छ।
सरकारले तोकेको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ तोकिएको छ भने मध्ययम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ।
गत वर्षको तुलनामा यो वर्ष धानको समर्थन मूल्यमा प्रतिक्विन्टल २२६ रुपियाँ बढी हो । गत वर्ष सरकारले भदौ २९ मै धानको समर्थन मूल्य तोकेको थियो। यो वर्ष भने सरकारले समर्थन मूल्य तोक्न ढिलो गरेको हो।
मोटा धान प्रतिक्विन्टल २९ सय ६७ र मध्ययम धानको समर्थन मूल्य ३१ सय २८ रुपियाँ तोकिएको छ ।
न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई ११२ रुपियाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ। गत वर्ष यो कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो। यो आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरिएको छ।