धनुषा - छठ पर्वमा सिङ्गै केराको घरी नै अर्घ्य रूपमा भगवानलाई चढाउने परम्परा छ । त्यसैले यस पर्वमा केराको माग उच्च हुन्छ ।
स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । छठका लागि मधेस प्रदेशका राजधानी जनकपुरधाममा मात्र रु ३ करोड बराबरको केरा आयात भएको छ ।
अघिल्लो वर्ष झण्डै पौने रु २ करोड बढीको केरा जनकपुर भित्र्याइएको थियो । “यसवर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्ला वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महङ्गिएको पूर्वेले बताए ।