कात्तिक ३, २०७९ बिहिबार

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा धादिङ गल्छी गाउँपालिका निवासी एक महिलाको मिर्गौला प्रत्यारोपणमा गम्भीर लापरबाही गरेपछि तनाव भएको छ । मंगलबार गरिएको मिर्गौला प्रत्यारोपणमा गम्भीर लापरबाही भएपछि लफडा भएको हो । यस घटनालाई गुपचुप बनाइएको छ । पीडित र प्रशासनबीच कयौंपटक संवाद भइरहेको छ ।

पीडित पक्षले दिएको जानकारीअनुसार घटना मंगलबारको हो । अन्दाजी ३१ वर्षकी महिलालाई उनकी सासुले मिर्गौला दान दिएकी थिइन् ।

चिकित्सकले प्रत्यारोपणका लागि मंगलबार सासुको बुहारीलाई दिन मिर्गौला ओपन गरिसकेका थिए । तर, मिर्गौला बाहिर झिकेपछि चिकित्सकले सासुको मिर्गौला बुहारीलाई म्याचिङ भएन भनेपछि समस्या आएको हो । मिर्गौला लिने महिला गल्छी गाउँपालिका वडा सदस्य समेत हुन् ।

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न डा. अनिल श्रेष्ठ र पारस श्रेष्ठले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका चिकित्सकले मिर्गौला झिकेर मिल्दैन भन्नु गम्भीर विषय भएको अधिकारीहरु बताउँछन् । प्रत्यारोपण गर्ने चिकित्सकले भने लाखौंमा एक केस यस्तो हुने बताउन थालेका छन् । यो पन्छिने गतिलो बहाना हो । आरोपित चिकित्सक बाहनाबाजीमा पीडित फकाउने काम गर्दै आएका छन् ।

प्रत्यारोपणमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएर सत्यतथ्य छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।