पर्वत । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो कीराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् ।
जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र बिस्तारै बोट मर्ने समस्या देखिएको हो । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारे कीराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।
‘पछिल्ला दुई–तीन वर्षयता गवारो किराको प्रकोप देखिएकामा अहिले झनै क्षति भएको भनेर लेक क्षेत्रका कृषकले गुनासो गरे । यसले पर्वतमा हुने कोदोको उत्पादनमा ह्रास ल्याउने भयो’, उनले भनिन्, ‘कोदो पसाउने बेलामा बिरुवाको काण्डमा गवारोले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । विस्तारै बोट पहेँलो हुँदै मर्छ ।’
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नारायण शर्माले कृषकको धेरै गुनासो आएपछि जिल्लाको मोदी गाउँपालिकाको क्याङमा ‘बाली उपचार शिविर’ राखेर त्यसको प्रभाव कम गर्ने प्रयास गरिएको बताए । त्यहाँका ३५ कृषकले ल्याएको बिरुवा परीक्षण गर्दा ५० प्रतिशतमा गवारोको समस्या देखिएको र त्यस बाहेक पातमा लाग्ने थोप्ले रोग र मरुवाको पनि प्रकोप रहेको पाइएको उनको भनाइ छ ।
ज्ञान केन्द्रका अनुसार जिल्लामा आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । यसबाट करिब ११ हजार एक सय ८९ मेट्रिक टन कोदो उत्पादन हुन्छ । सात हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गवारो किराको प्रकोपकै कारण यस वर्ष कोदो उत्पादन गिरावट आउने भएको छ ।