असोज २७, २०७९ बिहिबार

काठमाडौं: नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।

एमडी÷एमएस तथा एमडीएसका आवासीय चिकित्सकहरुले विगत चार महिनादेखि निर्वाह भत्ता प्राप्त नगरेको संघका महासचिव डा बद्री रिजालले बताए। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा कार्यरत आवासीय चिकित्सकहरुले प्राप्त गरिरहेको न्यून निर्वाह भत्तालाई समेत समयानुकूल परिमार्जन गर्न संघको माग छ। 

यो सँगै संघले संघले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा कार्तिक १६ गतेसम्म अनुभव पुरा गरेका विद्यार्थीहरुलाई पनि समावेश गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको छ।

आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फारम भर्दा चाहिने एक वर्षको अनुभवको मिति कार्तिक १६ गतेसम्मको कायम राख्न आग्रह गरेको हो। 

यसअघि आयोगले खुला तर्फ अनुभव चाहिनेको हकमा असोज १३ गतेसम्ममा कम्तीमा एक वर्षको अनुभव पुरा गरेको हुनुपर्ने व्यवस्था गरेको थियो।