असोज १५, २०७९ शनिबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा उत्पादन भएको स्याउले ढुवानी समस्याका कारण बजार नपाउँदा किसानहरू मर्कामा परेका छन् । सरकारले किसानलाई ७० प्रतिशत अनुदानमा इटालीबाट ल्याइएका स्याउका बेर्ना सहयोग गरेको थियो । अहिले बर्सेनि यहाँको स्याउ हेलिकोप्टरबाट ढुवानी गरी काठमाडौँ लगेर बेचिएको छ । 

ती स्याउले १ वर्षमै उत्पादन दिन थालेको छ । ‘एक वर्ष नहुँदै फल्दो रहेछ । किसानहरूले आफ्नो भविष्य स्याउमा देखेका छन्,’ स्थानीय किसान लाक्पा डुण्डुप लामाले भने, ‘तर ढुवानी महँगो भएकोले बजार पाउन मुस्किल भएको छ ।’

चुमनुब्री हालसम्म सडक सञ्जालले नछोएको पालिका हो । त्यसमाथि लोक्पा पहिरोका कारण अहिले खाद्यान्न समेत हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था आएको छ । लामाले सामुहिक रूपमा करिब ४४ सय बोट स्याउ लगाएका छन् ।

यस वर्ष ३५ हजार किलोभन्दा बढी स्याउ फलेको उनले बताए । ‘मोटरबाटो छैन । हेलिकोप्टरबाट लग्यो भने भयो, नत्र बोटमै कुहिन्छ,’ उनले अघि भने, ‘महँगो परे पनि ढुवानी गर्नै पर्‍याे ।’

केही स्याउ गोरखा सदरमुकाममा भएको मेलामा समेत विक्री भएको छ । गत वर्ष पनि उनले थप ८ हजार नयाँ बिरुवा रोपेका छन् । यी स्याउलाई अर्ग्यानिक प्रमाणित गरेर विदेशमा पठाउन सरकारसँग पहल भइरहेको उनले सुनाए ।